संसद विघटनको मुद्दा सुरु, संवैधानिक इजलासमा पुरानै टिमलाई नै निरन्तरता

काठमाडौं,२२ पुस । संसद विघटन असंवैधानिक भएको जिकिरसहित परेका मुद्दाहरुको सुनुवाइ गर्न यसअघि गठित संवैधानिक इजलासलाई नै सर्वोच्च अदालतले निरन्तरता दिएको छ ।

संसद विघटनविरुद्ध परेका रिटहरुमा आजबाट निरन्तर सुनुवाइ सुरु गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएका छन् ।

प्रधानन्यायाधीश जबराको नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु क्रमश् हरिकृष्ण कार्की, अनिल कुमार सिन्हा, विश्वम्भरप्रसाद श्रेष्ठ र तेज बहादुर केसी रहेका छन् ।

संवैधानिक इजलासमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई सदस्यलाई राखिएको भन्दै आलोचना हुँदै आएको छ । यस्तै न्यायाधीश कार्की केपी शर्मा ओली निकट नेकपा नेता सुवास नेम्वाङ र महान्यायाधीवक्ता अग्नि खरेलसँग निकट रहेको भन्दै स्वार्थ बाझिन सक्ने चिन्तासमेत व्यक्त भइरहेको छ । कानुन व्यवसायी तथा नागरिक समाजका अगुवाहरु बाट यस्तो चिन्ता तथा असन्तुटी ब्यक्त भइ राखेका छन् ।
कतिपय कानुन व्यवसायीहरुले त संसद विघटन सम्बन्धी मुद्दा संवैधानिक इजलासको सट्टा वृहत पूर्ण इजलासनमा सुनुवाइ गर्नुपर्ने मागसमेत राखेका थिए ।

सर्वोच्चमा आजबाट संसद विघटनविरुद्ध परेका रिटहरुमाथि निरन्तर सुनुवाइ हुने छ । संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने गरेकाले यसको फैसला आउन भने केहि समय लाग्ने निश्चित प्रायः देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्