अर्को हप्ता भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

काठमाडौँ, पुस २१ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अर्को हप्ता भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् । ९ दिनपछि अर्थात आगामी जनवरी १४ मा ज्ञवाली भारत भ्रमणमा जाने भएका हुन् ।

नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेको बताएको छ । पछिल्लो समय नेपाल(भारत सम्बन्ध सुध्रिएको नेपालका प्रधानमन्त्री केपी ओलीले बताइरहँदा परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण तय भएको हो ।

यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए । ज्ञवालीको भ्रमणबारे भारतीय मिडियाले समेत समाचार प्रकाशन गर्न थालीसकेका छन् ।

जनवरी १४ मा नयाँदिल्लीस्थित हुने मन्त्रीस्तरीय बैठकमा भारतको वार्ता टोलीको नेतृत्व भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गर्ने बताइएको छ । प्रधानमन्त्री केपी ओलीले नेपालको प्रतिनिधिसभा विघटन गरेपछि नेपालको तर्फबाट हुन लागेको यो पहिलो कुटनीतिक भ्रमण हो ।

भारतीय सेना प्रमुख र विदेश सचिव साथै रअ प्रमुखले नेपाल भ्रमण गरेलगत्तै नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रमण गर्न लागेका हुन् । यद्यपित गत नोभेम्बरमा चिनियाँ रक्षामन्त्री लगायत केही अधिकारीहरुले समेत नेपाल भ्रमण गरिसकेका थिए ।

नेपालको संसद विघटनको प्रभाव छिमेकीसहित अन्य देशहरुसँगको कुटनीतिक सम्बन्धमा पनि प्रभाव पर्नसक्ने बताइन्छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको यो भ्रमणलाई अर्थपुर्ण रुपमा पनि हेरिएको छ । नेकपा विभाजित भएपछि झनै अर्थपुर्ण रुपमा हेरिएको आंकलन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्