प्रदेश २ नेकपा संसदीय दलका नेताबाट मण्डललाई हटाइयो , नयाँमा महतो चुनिए
काठमाडौं, पुस २१ । नेकपा (दाहाल–नेपाल) का १९ जना सांसदले प्रदेश २ को संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ ।
जनकपुरमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई हटाएको हो । बैठकले दलका नेतामा शत्रुघन महतोलाई चयन गरेको छ ।मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल–नेपाल) पक्षका प्रदेश सांसद हुन् ।
जनकपुरस्थित प्रदेशसभा सचिवालयमा रहेका नेकपाको संसदीय दलको मंगलबार बसेको बैठकले मण्डललाई सर्वसम्मति निर्णय गर्दै दलका नेताबाट हटाइएको र महतोलाई दलका नयाँ नेता चुनिएको नेकपाका सचेतक बेंची लुङेलीले जानकारी दिइन् ।
दलका नेताबाट मण्डललाई हटाइएको र दलका नयाँ नेता महतोलाई चुनिएको जानकारी सभामुख सरोज यादवलाई गराइएको लुङेलीले बताइन् ।
प्रदेश २ मा एउटै पार्टी हुँदा नेकपासँग ३२ जना सांसद थिए । नेकपा दुई खेमामा विभाजित बनेपछि नेकपा (दाहाल–नेपाल) सँग बहुमत १९ जना सांसद र नेकपा (ओली) सँग १३ जना सांसद छन् ।
विभाजित भएसँगै नेकपाले प्रदेश २ को प्रमुख प्रतिपक्षी दलको हैसियत पनि गुमाएको छ । पछिल्लो समय नेकपा विभाजित भएसँगै हटाउने र नयाँ चयन गर्ने क्रम चलीरहेको छ ।















प्रतिक्रिया दिनुहोस्