जबरजस्ती संसद विघटन भयो , अदालतले संसद पुनर्स्थापना गर्नुपर्छः नेता पौडेल
काठमाडौं , पुस २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले संसद पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।
संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै विशेषाअधिकार नदिएको उनले बताए । वैधानिक, कानूनी र संवैधानिक आधारविना जबरजस्ती प्रतिनिधिसभा विघटन भएको आरोप लगाउँदै उनले संसद पुनर्स्थापना हुनुपर्ने बताए ।
संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हु्न ।
उनले भने, ‘आफूले पाउँदै नपाएको अधिकार भनेर केपी शर्मा ओलीले प्रयोग गर्नुभयो । यसले देशमा अनर्थ भयो ।’, ‘यसलाई सम्मानित अदालतले सच्याउनुपर्छ र प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ ।’
संविधान निर्माणका क्रममा भएका बहस छलफल स्मरण गर्दै कांग्रेस नेता पौडेलले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए ।
संसद विघटन गरेर लोकतन्त्रमाथि छुरा प्रहार भएको कांग्रेस नेता पौडेलले बताए । साथै उनले यसको सबैले डटेर विरोध गर्नुपर्ने औंल्याएका छन् ।
संसद पुनर्स्थापना हुनुपर्ने माग गर्दै अहिले देशभर आन्दोलन भइरहेको छ भने प्रधानमन्त्री ओलीले भने कुनै पनि हालतमा नहुने दाबि गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्