राजनीतिक स्थायित्वका लागि भएपनि निर्वाचनमा जानुपर्छ : मन्त्री थापा

काठमाडौं, पुस २१ । खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि भएपनि निर्वाचनमा जानु पर्ने बताएका छन् ।

सुर्खेतमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । उनले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने बताए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी भएको उनको भनाई रहेको थियो ।

“कतिपय शक्तिले यसलाई प्रतिगामी भनेका छन्, राजनीतिशास्त्रको सिद्धान्तले पनि सरकार वा प्रणाली सङ्कटमा प¥यो भने चुनावमै जाने हो”, उनले भने, “त्यसैले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम मान्न सकिन्न, ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगामी कदम हो ।”

नेकपा विभाजन भइसकेको बताएपनि थापाले भने नेकपा गम्भीर सङ्कटमा फसेको तर विभाजन भइनसकेको बताएका छन् । उनले आगामी निर्वाचनसम्म पार्टीमा देखिएको सङ्कट समाधान हुने सम्भावना कायमै रहेको बताए ।

नेकपा कर्णाली प्रदेश संयोजन गर्ने जिम्मेवारी पाएका खानेपानीमन्त्री थापाले औपचारिक रुपले पार्टी विभाजन नभइसकेकाले नेतारकार्यकर्ताको व्यवस्थापन हुन बाँकी रहेको बताए ।

साथै उनले प्रदेश सरकार फेरबदलबारेमा कुनै प्रकारको छलफल नभएको जनाकारी समेत गराए । उनले भने, “अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन ।”

प्रतिक्रिया दिनुहोस्