कतारमाथि तीन बर्ष अघिदेखि लगाएको नाकाबन्दी साउदी अरबले हटायो

काठमाडौं, २१ पुस । साउदी अरवले कतारमाथि लगाएको बहुप्रतिक्षित नाकाबन्दी हटाएको छ ।

साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील (जीसीसी) सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । जीसीसीको सम्मेलनमा साउदी सहित खाडी देशका ६ देश सहभागी हुने छन् ।

सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कतारले आतंकवादलाई बढावा दिएको आरोप छिमेकी देशहरुले लगाएपछि साउदी अरबले हवाई र स्थल नाकाबन्दी गरेको थियो । कतारमाथि व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध पनि लगाइएको थियो । यो प्रतिबन्धमा बहराइन, इजिप्ट लगायतका देशहरुले पनि साथ दिएर कतारमाथि घेराबन्दी गरेका थिए ।

कतार सानो, शुन्दर र समृद्ध खाडी राष्ट्र हो । उसमाथि आइएस जिहादी आतंकवादीलाई साथ दिएको आरोप लाग्ने गरेको छ । तथापी सो आरोपको कतारले खण्डन पनि गर्दै आएको छ । कतारमाथिको प्रतिबन्ध लामो कूटनीतिक प्रयासबाट हटाउन सम्भव भएको  र यसमा कुवेतले अहम् भूमिका निर्वाह गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्