कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन

काठमाडौँ, पुस १९ । कोरोनाबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ ।

पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारसमेत रहेका कोइरालाको आज नयाँ दिल्लीमा निधन भएको हो ।कोरोनाबाट पीडित उनको आज बिहान ११ बजे निधन भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

कोइरालाको विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचार भइरहेको थियो । निरञ्जन केशव कोइराला र नोना कोइरालाका छोरा हुन् । कोराना भाइरसको संक्रमण पुष्टि भएपछि ५ डिसेम्बरदेखि उनको अस्पतालमा उपचार चलिरहेको थियो ।

कोरोना संक्रमणबाट मुक्त भए पनि विगत केही दिनयता स्वास्थ्य जटिल बनेपछि उनलाई आईसियुमा राखिएको थियो ।

कोइराला पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा सक्रियरुपमा संलग्न थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल उनका समकालीन हुन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारमा उनले केही समय पर्यटन मन्त्रालयको विज्ञका रुपमा समेत काम गरेका थिए । शेखरका अनुसार नेपालको पर्यटन क्षेत्रमा नीतिगत सुधार गर्न उनले अहं भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्