प्रभु लाइफको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं , पुस १७ । प्रभु लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

शुक्रबार इन्स्योरेन्सले सर्वसाधारणमा जारी गरेको ६० लाख कित्ता साधारण सेयरसहित कुल दुई करोड कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँअंकित नेप्सेमा सूचीकृत भएको हो ।

आज नेप्से र प्रभु लाइफ इन्स्योरेन्सबीच कम्पनीको दुई करोड कित्ता सेयर नेप्सेमा सूचीकरण गर्ने सम्झौता भएको हो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आइतबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनी सेयर कारोबारको लागि ‘पीएलआई’ संकेत प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारको लागि १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको नेटवर्थदेखि त्यसको तीन गुणासम्म पहिलो कारोबारको लागि ओपनिङ रेन्ज तोक्ने गर्दछ ।

आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण सम्पन्न भएको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.५६ रुपैयाँ रहेको छ । यसअनुसार नेप्सेले कम्पनीलाई न्यूनतम १०९.५६ रुपैयाँदेखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात् ३२८.६८ रुपैयाँसम्मको पहिलो कारोबार रेन्ज प्रदान गरेको छ । उक्त रेन्जभित्रको जनसुकै मूल्यमा कम्पनीको पहिलो कारोबार हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्