संसद्‍ विघटनः अबको लडाइँमा हामी विजयी हुनेछौँ : बादल

काठमाडौं , पुस १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता रामबहादुर थापा बादलले संसद्‍ विघटनलाई अग्रगामी कदम भन्दै यो नयाँ लडाइँमा आफूहरु विजयी हुने बताएका छन्।

शुक्रबार ललितपुरको लगनखेलमा आयोजित ललितपुर महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेका नेता बादलले यस्तो बताएका हुन्।नेकपा भित्रको विभाजनलाई अग्रगमन र प्रतिगमनको संज्ञा दिएका उनले प्रधानमन्त्री केपी ओली समूह अग्रगमनका साथ अगाडि बढेको दाबी गरे।

संसद् विघटनको निर्णयपछि नेकपा विभाजन हुँदा प्रधानमन्त्री ओली समूहमा पुगेका नेता बादलले प्रतिगमन र अग्रगमनको लडाइँमा आफूहरु विजयी हुने बताए।

‘नयाँ राजनीतिक परिस्थितिमा अग्रगमन र प्रतिगमनको अभियान देशव्यापी रुपमा सुरु भएको छ’, नेता बादलले भने, ‘हामीले विश्वास गर्नुपर्छ। यो नयाँ लडाइँमा हामी विजयी हुनेछौँ र हामीलाई राष्ट्रले दिएको जिम्मेवारी र जनताले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नेछौँ।

त्यसैगरी बादलले पार्टी विभाजनमा विदेशी शक्तिको खेल रहेको भन्दै नेकपाको विभाजित समूहलाई एकतावद्ध गरेर अगाडि बढ्ने प्रतिवद्धतासमेत जनाएका छन्।

नेकपा विभाजनपछि देशमा आइपरेको चुनौती सामना गर्न र पार्टी निर्णयको पक्षमा दृढतापूर्वक उभिन उनले सबैलाई आह्वान गरेका छन्। साथै बादलले अब मध्यावधि निर्वाचनको मोर्चामा हाम फल्न सबैलाई आग्रह गरे।

नेता बादलले आफूहरु फुट र गुटको पक्षमा नभएर स्थायित्व र समृद्धिको पक्षमा रहेको बताए। अहिले राष्ट्रको पक्षमा उभिने कि आत्मसमर्पणको पक्षमा उभिने भन्ने निर्णय गर्ने बेला भएकोसमेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्