माघ १५ देखि मतदाता नामावली अद्यावधिक गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं , पुस १७ । निर्वाचन आयोगले आउँदो वैशाखमा घोषणा गरिएको निर्वाचनको तयारी थालेको छ ।सरकारले यही पुस ५ गते संसद् विघटन गरी ०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने घोषणा गरेको थियो ।

उक्त निर्वाचनका लागि आउँदो माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ ।

“सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिने, मुत्यु भएका वा बसाइ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुटा विवरण दिई कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरुद्धमा उजुरी दिनका लागि सम्पूर्ण मतदातामा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ,’’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन घोषणा भएसँगै पुस ६ गतेदेखि मतदाता नामावली दर्ता कार्य स्थगन गरिएको छ । पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएकाहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्