प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन: सभामुख सापकोटा

काठमाडौं, पुस १६ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नभएको बताएका छन् । विभिन्न दलआबद्ध महिला सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

अहिलेको संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको बताउँदै सर्वोच्च अदालतमा पनि त्यहीअनुसारको आफुले उत्तर दिने तयारीमा रहेको पनि उनले बताए ।
सभामुख सापकोटाले प्रतिनिधि सभा विघटनसम्बन्धी अदालतमा विचाराधीन रहेको मुद्दामा आफ्नो जवाफ पठाउने तयारी गरेका छन्।

उनले अहिलेको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको जवाफ पठाउन लागेको बताए ।

‘अहिले संविधानले प्रधानमन्त्रीलाई यहि परिस्थितिमा प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छैन,’ उनले भने, ‘अदालतमा पनि मैले यहिअनुसारको उत्तर दिँदैछु।’

त्यसैगरी अहिले सभामुखको जिम्मेवारीको हिसाबले संविधानको रक्षा र समग्र परिस्थितिमा देश र जनताको अधिकतम हितका पक्षमा आफूले कसरी भूमिका खेल्नुपर्छ भनी सबै सम्बद्ध पक्षसँग वृहत् र व्यापक परामर्श गरिरहेको उनले बताए।

संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने महिला सांसद र विभिन्न चारवटा महिला संघ संगठनले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम खारेज गर्न माग गर्दै सभामुखलाई ध्यानाकर्षण गराएका थिए। संविधानको रक्षाका लागि कसरी भूमिका खेल्ने भन्नेबारे बृहत् छलफल गरिरहेको पनि उनले बताए ।

संसद् विघटनको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएपछि कारण देखाऊ आदेश जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्