देउवाले भने- विचाराधीन मुद्दामा कांग्रेसले आन्दोलन गर्दैन
काठमाडौँ, पुस १६ । अहिले देशमा प्रतिनिधिसभा विघटनविरूद्ध सडक आन्दोलन भइरहेका छन् । यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई असर पर्ने गरी कांग्रेसले आन्दोलन नगर्ने प्रष्ट पारेका छन् ।
कांग्रेसले यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको दबाबकाबीच पुस १३ मा देशव्यापी प्रदर्शन गरेको थियो ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम असंवैधानिक भए पनि अदालतमा मुद्दा परेकाले त्यसकाविरूद्ध कांग्रेसले आन्दोलन गर्ने प्रष्ट्याएका हुन् ।
ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गर्दै देउवाले भने, ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ ।’
साथै उनले प्रजातन्त्र, मानवअधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न नसक्ने पनि उनले बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरूद्ध सडक आन्दोलन तताउने वा अदालतको आदेश पर्खने भन्ने विवादकाबीच देउवाको पछिल्लो अभिव्यक्तिसँगै नेपाली कांग्रेस तत्काल सडक आन्दोलनमा नजाने भएको छ ।















प्रतिक्रिया दिनुहोस्