संसद पुनःस्थापनाको सम्भावना छैन , ‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिन’ : प्रधानमन्त्री ओली

काठमाडौं, पुस १५ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको सम्भावना नरहेको बताएका छन्।

बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको प्रादेशिक भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले संविधानतः नै विघटित संसदको पुनःस्थापना गर्न नमिल्ने बताए ।

‘उहाँहरू (प्रचण्ड-नेपाल पक्ष) संसद पुनःस्थापना हुन्छ भन्दै हल्ला गरिरहनुभएको छ तर पुनःस्थापित गर्न संविधानले नै मिल्दैन‚’ प्रधानमन्त्री ‌ओलीले भने‚ ‘अहिले को कता छ थाहा भएन। जब मैले सिफारिस गरेँ। त्यतिबेला मसँग ६४ प्रतिशत मत थियो। ५१ प्रतिशत नभई सरकार बन्दैन। ३४ प्रतिशतले सरकार बनाउन सक्दैन। त्यसैले संसद पुनःस्थापनाको सम्भावना छैन।’

साथै ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाए।

अध्यक्षले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गरे । उनले संसद पुनर्स्थापनाको सम्भावना पनि नरहेको जिकिर गरे । उनले भने, ‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिन । चुनाब हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ ।

अब चुनावको तयारी गर्नुस् ।’ उनले प्रचण्ड माधव पक्षलाई पनि चुनावको तयारीमा लाग्न सुझाव दिए । साथै  ओलीले प्रचण्ड-माधव समूहसँग पार्टीको बहुमत रहेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्