उपत्यकामा झ्याप्पझ्याप्प बत्ती जान थाल्यो , कुलमान भन्छन्– व्यवस्थापन चुस्त नभएर हो

काठमाडौं,  पुस १५ ।  जब नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ थिए तब काठमाडौंमा बत्ति आउने जाने समस्या नै थिएन । जादैन्थ्यो भन्दा पनि फरक नपर्ला तर पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा झ्याप्पझ्याप्प बत्ती जान थालेको छ।

अहिले ऊर्जा मन्त्रालयको जिम्मेवारी टोपबहादुर रायमाझीले लिएका छन् । उनले जिम्मेवारी लिएपछि बत्ती जान थालेको टिप्पणी धेरैले गर्न थालेका छन् ।यता नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङले अवकाश पाएपछि बत्ती जाने क्रम बढेको कतिपयको बुझाइ छ।

यसैबीच पूर्वकार्यकारी निर्देशक घिसिङ अहिले बत्ती जानुपर्ने कुनै कारण नरहेको बताएका छन् ।बत्ती गइरहनुमा चुस्त व्यवस्थापनको अभाव रहेको उनको भनाइ छ। काठमाडौं उपत्यकामा बिजुलीको माग गत वर्षभन्दा यस वर्ष ७० मेगावाट कम रहेको पनि उनले बताए ।

माग कम भएपछि अरु समस्या नहुनुपर्ने र झ्याप्पझ्याप्प बत्ती जानुको कारण राम्ररी व्यवस्थापन गर्न नसक्नु भएको घिसिङले बताए । साथै उनले बत्ती गइरहनुमा अन्य कारण नै नरहेको बताए ।

बत्ती गइरहँदा उपभोक्ताले इन्भर्टर लगायतका वस्तुमा चार्ज स्टोर गर्न थाल्ने र त्यसले एक्कासि लोड बढाएर झन् समस्या निम्त्याउने उनको भनाइ छ। ‘यो सबै व्यवस्थापनमा भर पर्ने कुरा हुन्’, घिसिङ भन्छन्।

यता प्राधिकरणका अधिकारी भने प्रसारण लाइनमा केही समस्या देखिएपछि मर्मतका क्रममा थोरै समय बत्ती जाने गरेको दाबी गर्छन्।

प्रतिक्रिया दिनुहोस्