प्रचण्डको दाबि -वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन्

काठमाडौं , पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज काठमाडौंमा सडक प्रदर्शन गरेका छन् ।

पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा सामेल भएका थिए ।

काठमाडौंको टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्साल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको जुलुस शहर परिक्रमा गरी भृकुटीमण्डपमा सभामा परिणत भएको छ ।

सबै क्षेत्रको जुलुसको नेतृत्वका लागि केन्द्रीय नेताहरु नै खटाइएको थियो ।यसैबीच यता नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् ।

साथै उनले ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै भ्रममा नपर्न आग्रह गरे ।
‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’ प्रचण्डले भने, ‘त्यो दुश्वस्न हो भन्ठान्छु । हुनेबाला चुनाव घोषणा भएकै होइन ।’

चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उनको भनाई रहेको थियो । ‘चुनाव त हुँदैन तर जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना रहेको पनि उनले बताए ।

यसैबीच कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड माधव समूह)का अध्यक्ष माधवकुमार नेपालले निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने समय सकिएको बताएका छन् ।यसैगरि नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले तीन वर्षमा गफ मात्रै गरेर बिताएको बताएका छन् ।

यसैबीच नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभाको बैठक आह्वान नगरेसम्म सडक नछाड्ने दाबि गरेकाछन् । मंगलबार काठमाडौंमा भएको प्रदर्शनमा बोल्ने क्रममा पूर्वमन्त्री भट्टराईले यस्तो दाबि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्