निरंकुश ओलीको नेतृत्व गर्ने आयू अब सकियो , प्रतिनिधि सभा पुनःस्थापना हुन्छ, हुन्छ: नेता नेपाल
काठमाडौँ, पुस १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड माधव समूह)का अध्यक्ष माधवकुमार नेपालले निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने समय सकिएको बताएका छन् ।
भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
नेता नेपालले भने, ‘राजतन्त्र विरोधी आन्दोलनका क्रममा पनि मैले भनेको थिएँ । नेपालमा राजतन्त्र तानाशाहा भयो अब राजतन्त्रको आयु सकियो । आज पनि म यो विशाल सभालाई सम्बोधन गर्दै भन्छु निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी ओलीको पनि नेतृत्व गर्ने आयू अब सकियो ।’
प्रधानमन्त्री ओलीले एकपछि अर्को अलोकतान्त्रिक कदम चालेको बताउँदै नेता नेपालले जनमतविरुद्ध लागेकाले नेपाली जनता सडकमा उत्रिएको बताए ।
नेकपामात्र होइन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दल सडकमा उत्रिएका छन् । यसले ओलीको कदमलाई प्रश्न गरिरहेको बताए ।
नेपालले प्रतिनिधि सभा पुनःस्थापना भएरै छाड्ने दावी गरेका छन्। मंगलबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाल प्रतिनिधि सभा पुनस्थापना भएरै छाड्ने दावी गरेका हुन्।
साथै नेता नेपालले ओलीलाई सच्चिएर आउन दिनकै लागि केन्द्रीय कमिटीबाट निष्काशन नगरिएको बताए ।दाहाल–नेपाल समूहले राजधानीमा गरेको विरोध सभामा अध्यक्ष नेपालले सुध्रिनिहुन्छ कि भनेर केन्द्रीय सदस्य, पार्टी सदस्यबाट नहटाएको भन्दै नत्र ‘भीरबाट लड्ने गोरुलाई राम राम भन्नेसम्म हो, काँध थाप्न सकिन्न’ भने ।
ओलीलाई सुधार्न लागेकाहरुलाई उहाँले भन्नुभयो, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबासी दिन्छु ।’ओलीले गल्ती स्वीकारेर आएमा, असंवैधानिक कदमबाट पछि हटेर संसद पुनर्स्थापना गर्न तयार भएमा छलफल गर्न सकिने बताए ।















प्रतिक्रिया दिनुहोस्