काँग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तो

काठमाडौँ , पुस १४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री गुओ यझोउसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ । भेटमा देउवालाई चीन भ्रमणको निमन्त्रणा दिएको छ ।

पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री गुओले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिएका हुन् ।

उपमन्त्री गुओले काँग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताए । उनले कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गरेको योगदानको प्रशंसासमेत गरेका थिए ।

उनीहरुबीच नेपाल र चीनका द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्