संसद भंग गरेर ओलीले गणतन्त्र धरापमा पारे, अदालतले न्याय दिन्छ: प्रचण्ड
काठमाडौं, पुस १० । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र धरापमा पारेको बताएका छन् ।
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले ओलीले संसद विघटन गरेर गणतन्त्रको हत्या गरेको आरोप लगाए । प्रचण्डले प्रधानमन्त्री ओलीले संविधानमाथि निरंकुश ढंगले प्रहार गरेको टिप्पणी समेत गरे ।
‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक साथ प्रतिनिधिसभा विघटन गरिएको छ । त्यतिबेला गणतन्त्र असम्भव छ भन्ने हाम्रा प्रधानमन्त्री गणतन्त्र धरापमा पार्ने कामको पहल गर्नुभयो,’ उनले भने ।
अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनको निर्णयलाई अदालतले बैधानिकता नदिने आशा रहेको पनि बताए । उनले भने, ‘संविधानको मर्म र भावना तथा जनभावना अनुसार प्रतिनिधिसभा विघटन असबैधानिक छ, त्यसलाई सर्बोच्च अदालतले बैधता दिदैन ।’
तर यो मुद्दा अदालतसँगै जनता र सडकमा गएको भन्दै प्रचण्डले आफ्नो पार्टी सडकमा आएको र अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको पनि बताए ।
त्यस्तै उनले गृहमन्त्री रामबहादुर थापा झुक्किएर ओली पक्षमा गएको भन्दै अझैपनि आफ्नो समूहमा फर्किने दावी गरे । यता अध्यक्ष माधवकुमार नेपालले नेकपाको सबै सम्पति आफूहरूको हुने दाबी गरेका छन्।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा प्रचण्ड(नेपाल पक्षद्वारा जारी पत्रकार सम्मेलनमा बोल्दै नेपालले नेकपाको सबै सम्पत्ति आफूहरूको हुने र कुनै निजी सम्पत्ति भए आफूहरूले नलिने बताएका हुन्। साथै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्रविरोधी भएको समेत बताएका छन्।
प्रतिक्रिया दिनुहोस्