संसद विघटनको दिन इतिहासकै कालो दिन, बादल झुक्किएर ओली समूहमा गएः प्रचण्ड
काठमाडौं , पुस १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको दिनलाई नेपालकै इतिहासको कालो दिनको रुपमा टिप्पणी गरेका छन् । केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन्।
आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री ओलीले जालझेल गरेर संसद विघटन गरेको बताए । साथै ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ झुक्किएर ओली समूहमा गएको टिप्पणी गर्दै बादल आफ्नो समूहमै फर्किने विश्वास व्यक्त गरे ।
‘प्रचण्ड’ले अदालतप्रति आफूहरुलाई भरोसा रहेको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक भन्दै अदालतको भरोसा आफूहरुलाई रहेको बताएका हुन्।
प्रतिनिधिसभा विघटनको निर्णय भएपछि नेकपामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड-माधव नेपालको छुट्टाछुट्टै दुई समूह बनेको छ। प्रचण्ड-नेपाल समूहले आफ्नो समूह आधिकारिक भएको भन्दै शुक्रबार नै निर्वाचन आयोगमा गएर दाबी प्रस्तुत गरेको छ।















प्रतिक्रिया दिनुहोस्