प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने
काठमाडौं , पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीले साँझ ६ बजेको लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो ।
आजको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषद विस्तार गर्ने बताएको छ । बिहीवार ओली समूहको केन्द्रीय कमिटी बैठक सकिएलगतै उक्त समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले छिट्टै मन्त्रिपरिषद पुनर्गठन हुने बताएका थिए।
प्रतिनिधिसभा विघटन भएसँगै प्रचण्ड–नेपाल पक्षका सात जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। ओलीले आफ्नो समूहका केही सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड र माधव नेपाल समूहका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी भएका ७ जना मन्त्रीले पुस ७ गते राजीनामा गरेका थिए।
ओलीले संसद विघटन गरेको विरोधमा मन्त्रीहरुले राजीनामा दिएका हुन्। उनीहरुको राजीनामासँगै मन्त्रिमण्डलमा को सहभागी हुने भन्ने ओली समूहको नेकपामा चर्चा चलेको थियो।मन्त्री हुनेको दौडमा पूर्व माओवादी समूहबाट ओली गुटमा सहभागी नेताहरुको नाम अग्रस्थानमा छ।
स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणी थापा सरकारमा सहभागी हुने बताइएको छ। यस्तै, महेश बस्नेत, नवराज सिलवाल र र गोकुल बाँस्कोटाको नाम पनि मन्त्री हुने सूचीमा रहेको ओली निकटका नेताहरुले बताएका छन्।
त्यसैगरी कर्णालीबाट मोहन बानियाँ मन्त्री हुने चर्चा छ। सुदूरपश्चिमबाट प्रेम आले मगरको नाम पनि चर्चामा छ।पार्टी कमिटी र संसदीय दलमा अल्पमतमा परेपछि ओलीले संसद विघटन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्