पार्टी विभाजन भएकै बेला प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा

काठमाडौं, पुस १० । पार्टी विभाजन र प्रतिनिधिसभा भंग भएकै बेला प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री ओली छिमेकी मुलुक भारतको भ्रमणमा जाने तयारीमा लागेका छन्। उनको भ्रमण यही पुसको तेस्रो सातापछि हुनसक्ने प्रारम्भिक गृहकार्य भएको बताएको छ ।

उनको भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तो आउने र यसको घोषणा चाँडै हुनसक्ने एक उच्च स्रोतले बताएको छ। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय बार्ता तय भइसकेको अवस्थामा प्रधानमन्त्री स्वयं भारत भ्रमणको तयारीमा लागेकाले परराष्ट्र मन्त्रीस्तरीय बार्ता भने अन्यौलमा परेको बताइएको छ।

भारतीय पक्षको आग्रहवमोजिम नै ओलीले आफ्नातर्फबाट एउटा सानो टोलीलाई नयाँ दिल्ली पठाएको र सो गैरराजनीतिक टोलीले भारतको जासुसी संयन्त्रमार्फत प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीको काम गरेको बताइएको छ।

पार्टी विभाजन भएको र प्रतिनिधिसभासमेत भंग भइसकेको अवस्थामा प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउन किन भारतीय पक्षले प्रस्ताव अघि बढायो भन्ने कुरा रहस्यमय पनि बनेको छ।

प्रतिक्रिया दिनुहोस्