कोरोना महामारी : अमेरिकाले फाइजरको थप १० करोड खोप किन्ने

काठमाडौं , पुस ९ । कोरोना महामारीले यति बेला विश्व नै आक्रान्त बनेको छ । पछिल्लो समय विभिन्न देशले कोरोना भाइरसविरुद्धको खोप पनि निकाली सकेका छन् । कतिपय देशले त लगाउन सुरु पनि गरिसकेका छन् ।

यता अमेरिकाको सरकारले खोप निर्माता फाइजरसँग थप १० करोड डोज कोरोना खोप खरिद गर्ने सम्झौता गरेको छ । अमेरिकामा कोरोनाको खोप कार्यक्रम सुरु भइसकेको अवस्थामा उसले फाइजरसँग थप १० करोड डोज खोपका लागि सम्झौता गरेको हो ।

अहिले भएको सम्झौताअनुसार आगामी जुन ३० सम्म कम्पनीले कम्तीमा सात करोड डोज खोप उपलब्ध गराउनुपर्ने हुन्छ भने जुलाई ३१ सम्ममा बाँकी खोप उपलब्ध गराउनुपर्ने हुन्छ । यससँगै फाइजरसँग अमेरिकाले समग्रमा २० करोड खोपको लागि सम्झौता गरेको छ ।

समग्रमा उक्त खोपको खरिद सम्झौता चार अर्ब डलरको छ । अहिले भएको सम्झौताअनुसार अमेरिकाले एक खोपको लागि साढे १९ डलर खर्च गरेको छ । युरोपेली संघ यो खोपको एक डोजलाई १८ दशमलव ९० डलर तिर्न सहमत भएको थियो । फाइजरको कोरोना खोपलाई ईयू र अमेरिकाले प्रयोगको अनुमति दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्