अब जनताको भावनाअनुसार नेताहरु चल्नुपर्छ: माधव नेपाल

काठमाडौं , पुस ९ । नेकपाको (दाहाल–नेपाल) समूहको केन्द्रीय कमिटी बैठक जारी नै छ । बबरमहलमा सुरु भएको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन्  ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र रक्षाका लागि अब संयुक्त आन्दोलन गर्ने बताएका छन् । संविधान, लोकतन्त्रको मूल्य र मान्यताको रक्षाका लागि सबैलाई उत्प्रेरित गर्न संयुक्त आन्दोलन गर्ने जनाएका हुन् ।

पार्टीको जारी केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । गणतन्त्रलाई जोगाउने, कानुनी राज्यको मूल्य र मान्यतालाई व्यवहारमा रुपान्तर गर्न पार्टीले मुख्य भूमिका निर्वाह गर्ने विश्वास
समेत उनले दिलाए ।

साथै उनले अहिलेको अवस्थामा संविधान मिचिएको, नेपाली जनताले रगत, पसिना बगाएर, जीवनको आहुति दिएर संविधानसभाका माध्यमबाट नेपाली विशेषता र आवश्यकताको संविधान बनाएका भए पनि त्यसलाई कुल्चने काम भएको टिप्पणी गरे ।

आफ्नै पार्टीबाट सरकारको नेतृत्व गरेका तत्कालीन अध्यक्ष केपी ओलीले संविधानको मर्मलाई कुल्चिएर, संविधानको मर्यादालाई सीमा नाघेपछि संकट बेला आएको उनको भनाइ थियो ।

पार्टीका नेताहरुको गतिविधिलाई यति बेला जनताले हेरिरहेको पनि अध्यक्ष नेपालले बताए । हिजोका दिन संघर्ष र जनयुद्धमा होमिएका नेताहरु आज सत्तामा पुगेपछि बदलिएका त छैनन् भनेर जनताले सुक्ष्म रुपले हेरिरहेको उनले बताए  । यस्तो अवस्थामा जनताको भावनाअनुसार अब नेताहरु चल्नुपर्ने उनले प्रस्ट पारे ।

अध्यक्ष नेपालले ७० प्रतिशतको हाराहारीमा केन्द्रीय सदस्य उपस्थित बैठक नै आधिकारिक हुने दावी गर्दै कसैलाई कुनै भ्रममा नपर्न पनि आग्रह गरे । आजको बैठक पार्टीको संगठन र संगठनको तत्कालीन कार्ययोजनाबारे केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्