देउवा-पौडेलबीच बैठकमै चर्काचर्की , ओलीको कदमविरूद्ध आन्दोलनमा जान पौडेल पक्षको दबाब
काठमाडौँ, पुस ९ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध तत्काल आन्दोलनमा जाने कि चुनावमा भन्ने विषयमा कांग्रेसभित्र विवाद र चर्काचर्की भएको छ । केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भएको छ । बुधबारको कार्यसमिति बैठकमा केहीबेर दुई नेताबीच विवाद नै भएको हो ।
केन्द्रीय समिति बैठक लम्बिने देखिएपछि नेता पौडेलले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्ने बताएका थिए । तर, सभापति देउवाले बारम्बार नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्न नहुने बताएका थिए ।
त्यसैगरी देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने भन्दै संसद विघटनको मुद्धा सर्वोच्चमा पुगिसकेकाले फैसला नहुँदासम्म कांग्रेसले निर्णय गर्न नहुने धारणा बुधबारको बैठकमा राखेका थिए ।
तर देउवाको भनाईमाथि असहमति राख्दै नेता पौडेलले संसद विघटन गर्नु असवैधानिक भएकाले नेकपा फुट्नु र नफुट्नुमा कांग्रेसको कदम निर्भर हुन नहुने बताए । पौडेलले अब कांग्रेस सुतेर बस्न नहुने भन्दै देउवाको धारणाको आक्रामक रुपमा विरोध गरेका थिए ।
पौडेल आक्रामक भएपछि देउवा पक्षका नेताहरु सहमहामन्त्री डा। प्रकाशरण महत र केन्द्रीय सदस्य शंकर भण्डारीले पौडेलको विरोध गरेका थिए । नेताहरुबीच आरोप प्रत्यारोप हुदा बैठकको माहोल नै चर्काचर्की भएको थियो । यसैबीच कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउबामाथि दबाब बढाएको छ ।
पैडेल पक्षले केन्द्रीय समिति बैठकअघि अनामनगरमा छुट्टै भेला गर्दै सभापति देउवाविरूद्ध दबाब सृजना गर्ने रणनीति बनाएको हो ।बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा, प्रदिप पौडेलसहितका नेताहरूको सहभागिता रहेको जनाइएको छ ।
अनामनगरको सो भेलाले आन्दोलनको मोडालिटीसमेत छुट्टै प्रस्तावकोरूपमा पेस गर्ने तय गरेको एक सदस्यले जानकारी दिए ।प्रधानमन्त्री ओलीको कदमविरूद्ध तत्कालै सडक संघर्षमा जाने वा अदालतको निर्णयका आधारमा अघि बढ्नेमा कांग्रेसभित्र विवाद छ ।
सभापति शेरबहादुर देउवा पक्षधरहरू भने न्यायालयबाट हुने निर्णयका आधारमा अघि बढ्नु पर्ने पक्षमा छन् ।















प्रतिक्रिया दिनुहोस्