संसद पुनर्स्थापित गर्छौं र मेरै नेतृत्वमा नयाँ सरकार बन्छ: प्रचण्ड

काठमाडौं , पुस ८ । प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसहमत रुपमा दलको नेता चुनिसकेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् ।

बुधबार प्रचण्ड- माधव समूहका सांसदहरुको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर अब आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिवद्धता छ ।‘अरु संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं’ उनले भने ।

प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरु नै वैधानिक र ठूलो दल भएको बताए । ‘संसदीय दलमा पनि ११५ अहिले नै सहभागी हुनुहुन्छ र अरु केही सांसदहरुले हस्ताक्षर गर्ने वचन दिनुभएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौँ’ उनले भने, ‘सबैभन्दा ठूलो दल यसले पनि पुष्टि गर्छ ।’

उनले नेकपाका बहुमत सांसद आफूहरूसँग रहेको र अन्य सांसदलाई मनाउने प्रयास भइरहेको बताए। आजको दलको बैठकमा प्रतिनिधि सभातर्फका ९३ जना र राष्ट्रिय सभाका २४ जना गरी ११५ जना सांसद सहभागी थिए।

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै उनले संविधानसभाबाट प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर लेखेको स्मरण गरे ।  ‘यसको पछाडि ठूलै षड्यन्त्र छ, देशी विदेशी शक्तिको चलखेल खुल्दै जाला, अहिले विश्वले नेपालको यो घटनालाई चासोका साथ पनि हेरिरहेका छन्’ प्रचण्डले भने ।

आजको दलको बैठकमा प्रतिनिधि सभातर्फका ९३ जना र राष्ट्रिय सभाका २४ जना गरी ११५ जना सांसद सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्