बालुवाटारमा प्रधानमन्त्री र बादलबीच भेटवार्ता , एक घन्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं, पुस ८ । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच वालुवाटारमा भेटवार्ता भएको छ । ओलीलाई भेट्न बादल बालुवाटार पुगेका हुन् ।

राजनीतिक रूपले विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग झन्डै एक घन्टा छलफल गरेका छन्।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बिहान प्रधानमन्त्री ओली र बादलबीच कुराकानी भएको हो। पूर्वमाओवादी समूहका बादलले विभाजनपछि आफू कुन कित्तामा उभिने भन्ने अहिलेसम्म निर्णय गरेका छैनन्।

बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने उनले कुनै निर्णय गरिसकेका छैनन् ।पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर मंगलबार बिहान प्रचण्डले बादललाई भेट्दै आफूलाई साथ दिन आग्रह गरेका थिए ।

मंगलबार दिउँसो १ बजे प्रचण्ड–माधव नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाएको छ भने माधव नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री ओली र बादलबीच आजको भेटमा के(के कुराकानी भयो भन्ने खुलाइएको छैन। बादलनिकट स्रोतहरूले भने उनले आज अब कुन समूहमा जाने भन्नेबारे निर्णय गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्