नेता नेपालले भने- बालुवाटारमा गुट भेला भएको हो, पार्टी बैठक होइन
काठमाडौं, पुस ७ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीभन्दा पनि माथि राखेको बताएका छन्।
मंगलबार दिउँसो बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेको प्रचण्ड- नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेपालले यस्तो बताएका हुन् । उनले पार्टीमा सबैभन्दा ठूलो केन्द्रीय कमिटी भएको पनि बताए।
‘केन्द्रीय कमिटी सबैभन्दा ठूलो हो। त्योभन्दा माथि कोही हुनेवाला छैन,’ नेपालले भने,‘बालुवाटारको गुट भेला हो पार्टी केन्द्रीय कमिटी बैठक होइन।’
पछिल्लो समय बैठक बस्न धेरै नै कसरत गर्नुपरेको बताउँदै नेता नेपालले बालुवाटारमा पार्टीको बैठक बस्न नहुने बताए। साथै नेता नेपालले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीबाट अपमानको विष पिएको बताएका छन्।
ओलीले न्यूनतम मर्यादाको समेत ख्याल नगरी कुर्सी हटाउनेलगायतका कार्य गरेकाले प्रचण्डले अपमानको विष पिएको बताएका हुन्। यता प्रचण्ड(नेपाल समूहको स्थायी कमिटीले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ।















प्रतिक्रिया दिनुहोस्