सुरु भयो बानेश्वरमा प्रचण्ड–माधव समूहका सांसदहरुको भेला

काठमाडौं , पुस ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको भोलिपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरुको बैठक बोलाएका थिए । भेलामा सहभागी हुन बानेश्वर पुगेका सांसदहरुलाई हस्ताक्षर समेत गर्न लगाइएको छ ।

यसैबीच दाहाल-नेपाल समूहको हिजो बसेको स्थायी कमिटी वैठकले संसद् विघटन गर्ने कदमलाई गैरसंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो । त्यसैको निरन्तरतामा यो समूहले आज सांसदहरुको भेला आयोजना गरेका हो । हिजोमात्रै दाहाल-नेपाल समूहका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

बानेश्वरमा भेला अगाडि दाहालले सचिवालय सदस्य रामबहादुर थापासँगसमेत छलफल गरेका छन् । आजै थापाले निकट नेताहरुको भेला गरेका थिए ।

यसबाहेक दाहाल नेपाल समूहका सांसदहरु कानूनी उपचारको खोजीमा सर्वोच्च अदालत जाने गृहकार्यमा पनि जुटेका छन् । यसका लागि सर्वोच्चमा जाने गरी दाहाल-नेपालसमूहका सांसदहरुको हस्ताक्षरसमेत बानेश्वरमै संकलन गरिएको थियो । दाहाल-नेपाल समूहका नेताहरुले कानून व्यवासायीसँगसमेत परामर्श गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्