संसद विघटन घोर असंवैधानिक र अलोकतान्त्रिक: बार एशोसिएसन

काठमाडौं , पुस ६ । नेपाल बार एशोसिएसनले संसद विघटन गर्ने सरकारको कदम घोर असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेको छ । सोमबार विज्ञप्ति जारी गरी यस्तो ठहर गरेको हो । बारले सरकारको कदम घोर असंवैधानिक र अलोकतान्त्रिक हुनुका साथै यसले देश अस्थिरतातर्फ जान सक्ने खतरा सिर्जना भएको पनि उल्लेख गरेको छ ।

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘‍‘।।त्यस्तो गैरसंवैधानिक र गैरलोकतान्त्रिक कदमको नेपाल बार एसोसिएशन घोर विरोध र भर्त्सना गर्दै संविधानको पालना गरी पदीय मर्यादा कायम राख्न सम्बन्धित सबै निकाय र पदाधिकारीहरुमा अपील समेत गर्दछौं ।’

संविधानको पालना र संरक्षण गर्नुपर्ने पदाधिकारीबाटै नेपालको संविधानको घोर उल्लंघन हुनु आपत्तिजनक मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमाथि नै बज्रपात भएको पनि बारले उल्लेख गरेको छ । संविधानमा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा मात्र संसद विघटन गर्न पाउने व्यवस्था रहेको बारले उल्लेख गरेको छ ।

सो अवस्थाबाहेक प्रतिनिधि सभाको विघटन गर्नसक्ने कुनै संवैधानिक व्यवस्था नरहेको पनि बारको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्