नेपाल संसद् विघटनः अब देश संकटकाल तर्फ लाग्ला त ?

काठमाडौं, पुस ६ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

ओलीको उक्त कदम विरुद्ध अहिले देशब्यापी प्रदर्शन चर्कदै गएको छ । यता उक्त प्रदर्शनलाई मध्यनजर गर्दै ओलीले पनि चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा छलफल गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरे पछि यसलाई फरक ढङ्गले हेरिन थालिएको छ ।

प्रदर्शन चर्कदै जादाँ सरकारले अब संकटकाल घोषणा गर्ने आँकलन पनि गर्न थालिएको छ । आज पनि देशका विभन्न ठाउँमा संसद् विघटन गरेपछि प्रर्दशन भइरहेको छ । संसद् विघटनको विरुद्धमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका १६ जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । प्रर्दशन हुनथालेपछि काठमाडौंका ठाउँ ठाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ ।

यता प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध रणनीति तय गर्न नेकपाको दाहाल–नेपाल पक्षको बैठक बसिरहेको भने उनीहरु कानुनी अवस्थाबारे कानुन व्यवसायीसँग छलफलमा पनि जुटेका छन्।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेसँगै राजनीति गर्माएको हो। ओलीको कदमको विरोधमा सत्तारुढ दल नेकपाको प्रचण्ड पक्ष, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, अन्य प्रतिपक्षी दलहरुलगायत सबैतिरबाट आलोचना भइरहेको छ। यता सामाजिक सञ्जालमा पनि सबैले आ आफ्ना टिपण्णी र धारण व्यक्त गरिरहेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि ओली सरकारका ७ जना मन्त्रीले हिजै राजीनामा घोषणा गरेका छन्।

राजीनामा घोषणा गर्ने मन्त्रीहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल, उर्जामन्त्री वर्षमान पुन, खानेपानी मन्त्री बिना मगर, वनमन्त्री शक्ति बस्नेत र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

प्रतिक्रिया दिनुहोस्