ओली र प्रचण्ड दुबै पक्षको भेला र छलफल

काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि आफ्ना निकट प्रतिनिधि सभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गरेका छन् ।

आइतबार संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटनको निर्णय गरेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका पनि आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएका हुन ् । अहिले उनीनिकट सांसदहरू बालुवाटारमा पुगिसकेका छन्। पूर्वमाओवादीबाट सांसद भएकाहरूमध्ये अहिलेसम्म उद्योग मन्त्री लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन्।

यसअघि आइतबार प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यको अनुपस्थितिमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो।

ओलीइतर समूहका सांसदहरूले आइतबार नै उनीविरूद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका थिए । साढे २ वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेपछि ओलीले आफू पक्षीय सांसदहरूसँग छलफल गर्न लागेका हुन् ।
यसैबीच नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूको भेला दिउँसो १ बजे हुँदै छ । भेला बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भेला हुन लागेको हो ।

आफू पक्षीय सांसदहरूसँग ओलीले विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे कुरा गर्ने बताइएको छ। ओलीबिना बसेको आइतबारको स्थायी कमिटी बैठकले मंगलबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। उक्त बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्