लेखा समितिमा मन्त्री ढकालले भने – स्वास्थ्य सामग्री खरिद प्रकरणमा मेरो कुनै संलग्नता छैन

 

काठमाडौं,पुस ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड- १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन्।

उनले स्वास्थ्य सामग्री खरिदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारे। साथै उनले आफूले मन्त्रालयको नेतृत्व गरेको हिसाबले महामारीको विरूद्धमा सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रूपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने विषयमा मात्रै सहमति जनाएको बताएका थिए ।

आफूले सहजीकरणका लागि मात्रै नीतिगत हिसाबले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र तलबाट उठेको विषयलाई स्वीकृति दिने काम मात्रै गरेको उनले बताए।त्यसबाहेक अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेप आफूले नगरेको पनि दाबी उनले गरे।

यसैबीच संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा नियमसंगत नभएको ठहर गरेको छ । महिनौंको छलफल र सस्साकस्सीपछि स्वास्थ्य सामाग्री खरिद प्रकरणमा थप छानबिन गरि कारबाही गर्न सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्