काठमाडौँमा हट्यो जोरबिजोर , बढ्यो सवारीको चाप

काठमाडौँ, पुस ३ । काठमाडौँ उपत्यकामा लागू भएको जोरबिजोर प्रणाली आजबाट हटेको छ ।कोरोना कहरका बीच सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । जोरबिजोर प्रणाली हटेसँगै काठमाडौँका सडकमा यतिबेला सवारीको चाप बढेको छ ।

यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधान सञ्चालनमा आए पनि जोरबिजोर प्रणाली कायम गरिएको थियो। जोरबिजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गए पछि खुला गरिने भएको हो।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रुपमा पालना गर्दै सवारीसाधन सञ्चालन गर्न पाउने गरी जोर विजोर प्रणाली हटाइएको उनले जानकारी दिए।जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको सरोकारवालाहरुको छलफलले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो। प्रशासनले जोरबिजोर हटेको सुचनासमेत सार्वजनिक गरिसकेको छ।

असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी चल्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्