भारतमा अर्को महिनादेखि कोरोना खोप लगाउन सुरू गरिने
काठमाडौं, पुस ३ । पछिल्ला दिनहरुमा विभिन्न देशले कोरोना खोप प्रयोगका लागि स्वीकृति पाइसकेका छन् भने कतिपयले लगाउन पनि सुरु गरिसकेका छन् । कतिपय देशमा लगाउने तयारी हुँदैछ । यता नेपालमा पनि खोप ल्याउने तयारीमा सरकार लागी परेको छ । उता भारतमा आगामी जनवरीदेखि नै कोभिड–१९ विरुद्धको खोप लगाउन सुरू गरिने भएको छ ।
बीबीसीमा प्रकाशित एक समाचारअनुसार सार्वजनिक स्वास्थ्य अधिकारीहरूले अबका केही हप्तामै खोपहरू आपत्कालीन प्रयोगका लागि स्वीकृत हुन सक्ने हुँदा खोप कार्यक्रम छिट्टै सुरू गरिने बताइएको छ ।अहिलेसम्म दुईवटा कम्पनीले यसका लागि आवेदन दिइसकेका छन् भने अन्य ६ वटा चाहिँ क्लिनिकल ट्रायलको विभिन्न चरणमा रहेको बताइएको छ ।
यो खोप कार्यक्रम अगस्टसम्म ३० करोड जनतामाझ पुर्याउने लक्ष्य रहेको छ । भारतमा अहिले कोरोना संक्रमितहरुको सङ्ख्या १ करोड पार गरिसकेको छ भने १ लाख ४४ हजार भन्दा धेरै बिरामीको मृत्यु भइसकेको छ । यता नेपाल सरकारले पनि भारतबाट खोप ल्याउन पत्राचार भने गरिसकेको छ । भारतमा कोरोना खोप लगाउन सुरू गरिएसँगै नेपालमा पनि ल्याउने तयारी थालीने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्