सरकारविरूद्ध राप्रपाले प्रदर्शन गर्ने, यस्तो छ तालिका
काठमाडौं, पुस २ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ।
आज बसेको पार्टीको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकमा गरेको निर्णय अनुसार पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला सहरमा मोटरसाइकल र्याली गर्ने र पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।
भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरूद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनस्स्थापनाको लागि पार्टीले पहिलो चरणमा प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।
यसका साथै,पार्टीले पुस १२ गते ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र पनि बुझाउने भएको छ।
पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम सञ्चालन गर्ने तथा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौंमा बस्ने पनि बैठकले निर्णय गरेको छ। केहिदिन अघि मात्रै सरकारविरुद्ध नेपाली कांग्रेसले पनि देशभर सशक्त प्रदर्शन गरेको थियो ।















प्रतिक्रिया दिनुहोस्