उखु किसानको आन्दोलन : भित्रभित्रै खराब उद्योगीको संरक्षणमा नेताहरु

काठमाडौं , पुस २ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेताहरुकै संरक्षणमा चिनी उद्योगीहरुले किसानको पैसा नतिरेको जिकिर गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री भट्टले यस्तो जिकिर गरेका हुन् । बाहिर किसानको पक्षमा बोलेझैं गर्ने र भित्रभित्रै खराब उद्योगीको संरक्षणमा नेताहरु लागिदिनाले किसानहरु मर्कामा परेको उनले बताए ।

‘सामाजिक सञ्जालमा किसानको पक्षमा भएझैं गरी नेताज्यूहरु रोइलो गर्नु हुन्छ तर भित्रभित्रै चाहिँ उद्योगीको संरक्षण गर्नु हुन्छ’, मन्त्री भट्टले भने, ‘नेताज्यूहरु मलाई फोन गरेर भन्नु हुन्छ, ‘३–४ दिनमै तिर्छु भनेका छन्, अहिले पक्राउ नगरिदिनुस् है’ । फेरि ट्विटरमा चाहिँ उहाँहरु नै सरकारकै विरोध गरेर किसानलाई पैसा किन नदिएको भन्नुहुन्छ । अच्चम छ । यस्तो दोहोरो चरित्रले किसानको हित हुँदैन,’ मन्त्री भट्टले भने ।

यता सरकराले उखु किसानको बक्यौता रकम नतिर्ने चिनी उद्योगीलाई पक्राउ गर्ने भनेको थियो । यहि बेला मन्त्री भट्टले यस्तो जिकिर गरेका हुन् । यसैबीच सरकारले बक्यौता रकम दिलाउने आश्वसन दिए पनि अझै भुक्तानी नभएको भन्दै सर्लाहीका उखु किसानले आइतबारबाट माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए ।

गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानसँग लिखित सम्झौता गरी सोही वर्षको माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाउने प्रतिवद्धता जनाएको थियो ।सम्झौता भएको एक वर्ष पुग्न लाग्दासमेत बक्यौता रकम नपाएको भन्दै उनीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

चार वटा चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ । सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड रूपैयाँ भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्