प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, यी एजेण्डामा हुनेछ छलफल
काठमाडौं, पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने बताएको छ । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए ।
सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन समेत दिएको थियो ।
स्थायी कमिटी बैठक अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता गर्ने सहमति जनाएका थिए । यता नेपाली कांग्रेसले पनि अध्यादेशको विरोध जनाएका थिए । चारैतिर बाट दबाब आएपछि प्रधानमन्त्री ओली फिर्ता लिन बाध्य भएका थिए ।















प्रतिक्रिया दिनुहोस्