९ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर, जाने होइन त अब भगवानको दर्शन गर्न ?
काठमाडौं , पुस १ । कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज (बुधबार) बाट खोलिएको छ ।
हिन्दुहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथको दर्शन गर्न भक्तालुहरु बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् । मन्दिर खोलिएपछि पूजाआजा गर्न सर्वसाधारण देखि कलाकारसम्म जाडोको प्रवाह नगरी बिहानै पशुपतिनाथ मन्दिर पुगेका हुन् ।
पशुपति क्षेत्र विकास कोषले पहिलो चरणमा पश्चिम ढोकाबाट मात्रै सर्वसाधारणलाई प्रवेश गर्न र बाहिर निस्कन दिने व्यवस्था गरेको छ ।यसअघि लामो समय मन्दिर बन्द राख्नु परेकोले पशुपति क्षेत्र विकास कोषले क्षमापूजा गरेको थियो ।मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरेकी थिइन् ।
कोरोना संक्रमणको जोखिमका कारण नौ महिना देखि बन्द गर्नुपर्दा क्षमा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।प्राचीनकालदेखि नियमित रुपमा पूजा हुँदै आएकोमा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमा पूजा गरिएको हो ।दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ ।
दुई रदुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ ।भक्तालुहरुले मन्दिर प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने छ ।मन्दिरभित्र प्रवेश गर्नुअघि हात स्यानिटाइज गर्नुपर्ने व्यवस्था पनि मिलाइएको छ ।
मन्दिरमा हुने विशेष पूजा, भजनकीर्तन लगायतका क्रियाकलाप भने अझैपनि बन्द गरिएको कोषले बताएको छ ।सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिक स्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राख्दै प्रदर्शन भएपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्दै पुशुपतिनाथ मन्दिर खुला गरेको हो ।
प्रतिक्रिया दिनुहोस्