ओली र प्रचण्डबीच भेटवार्ता , अध्यादेशदेशपछि राजनीतिले लियो नयाँ मोड

काठमाडौँ, पुस १ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । उनीहरुबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अपराह्न डाकिएको बैठअघि एक्ला एक्लै भेटवार्ता भएको हो ।

बालुवाटारमा राखिएको स्थायी कमिटी बैठकअघि ओली र दाहालबीच भेटवार्ता जारी रहेको छ । एकपक्षीय रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि विवाद झन चुलिएपछि ओली र दाहालबीच भेटवार्ता भएको हो ।

दुई जनाको भेटअघि दाहाल निवास खुमलटार पुगेर स्थायी कमिटी सदस्य शंकर पोखरेलले दुई अध्यक्षबीच भेटवार्ता गरेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयबाट सुरू भएको नेकपा विवाद पछिल्लो समय विभिन्न नियुक्ति र पछिल्लो अध्यादेश प्रकरणपछि झनै चुलिएको छ ।

अध्यादेश जारी भएलगत्तै खुमलटारमा मंगलबार बसेको दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठकले तत्काल अध्यादेश खारेज नभए ओलीविरुद्ध कठोर कदम चाल्ने चेतावनीसमेत दिइसकेका छन् ।

संवैधानिक परिषदमा रिक्त पदाधिकारी नियुक्तिको प्रयासमा दुई पटकसम्म डाकेको बैठक स्थगित भएपछि मंगलबार ‘आकस्मिक‘ बसको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो ।

सरकारले सिफारिस गरेको संवैधानिक परिषद ९काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ राष्ट्रपतिबाट जारी भएसँगै नेपालको राजनीतिले नयाँ मोड लिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको अध्यादेशअनुसार मंगलबार साँझ नै संवैधानिक परिषद्को बैठक बसिसकेको छ ।

प्रधानमन्त्रीसहित संवैधानिक परिषदका पदाधिकारीको मौजुदा संख्याको बहुमत भए परिषद बैठक बस्ने गरी अध्यादेश जारी भएको छ । अब परिषदका ५ जना मध्ये ३ जनाको उपस्थितिमा बैठक बस्न सक्नेछ र बहुमत अर्थात् दुई जनाले निर्णय गर्न सक्नेछन् । यसअघि जारी भई फिर्ता लिइएको अध्यादेशमा पनि यस्तै व्यवस्था थियो ।

नयाँ अध्यादेशविरूद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिटसमेत हालिसकेका छन् । यता नेकपाभित्रको लामो समयको विवाद नसुल्झिकन थप उग्र बन्दै गएपछि कतिपयले पार्टी फुटको डिलमा पुगेको टिप्पणी गर्न थागेका छन् ।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ । पछिल्लो समय नेताहरुको दौडधुप तिब्र चलेको छ । नेकपामा विवाद लामो समय सम्म चलीरहेको छ । यसको समाधानका लागि स्थायी कमिटिलाई जिम्मा दिएको छ । तर बैठक बसे पनि हल भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्