उखु किसानको बक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय
काठमाडौँ, मंसिर ३० । सरकराले उखु किसानको बक्यौता रकम नतिर्ने चिनी उद्योगीलाई पक्राउ गर्ने भएको छ ।
गृहमन्त्री राम बहादुर थापाको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीको बैठकले किसानको पैसा नतिर्ने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो । यो सँगै अब उखु किसानको बक्यौता रकम नतिर्ने चिनी उद्योगी पक्राउ पर्न सक्नेछन् ।
सरकारले बक्यौता रकम दिलाउने आश्वसन दिए पनि अझै भुक्तानी नभएको भन्दै सर्लाहीका उखु किसानले आइतबारबाट माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका छन् ।
गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानसँग लिखित सम्झौता गरी सोही वर्षको माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाउने प्रतिवद्धता जनाएको थियो ।सम्झौता भएको एक वर्ष पुग्न लाग्दासमेत बक्यौता रकम नपाएको भन्दै उनीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।
चार वटा चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ । सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड रूपैयाँ भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । यसपटक भने उधारोमा सहमति नगर्ने अडानका साथ आन्दोलनमा उत्रिएको पीडितहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्