जोर-बिजोर प्रणाली हटाउने तयारीमा सरकार , यसरी हुँदैछ तयारी
काठमाडौं , मंसिर ३० ।कोरोना भाइरसका कारण काठमाडौंमा जारी जोर बिजोर प्रणाली हटाउने तयारीमा सरकार रहेको छ । लामो समयपछि उपत्यकाका सवारीसाधनमा जारी रहेको जोर-बिजोर प्रणाली हटाउने तयारी भएको हो ।
देशभर सवारीसाधन निर्वाध सञ्चालन भए पनि काठमाडौं उपत्यकामा भने जोर-बिजोर प्रणाली कायमै रहेको छ ।कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु छ ।
सरकारी पक्षले जोर-बिजोर माध्यमबाट कोरोना महामारी न्यूनीकरण हुने दाबी गर्दै आएको भए पनि उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दो छ । पछिल्लो समय परिक्षणको दायरा भने साँघुरो पारिएको छ ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारीसाधनमा जोर(बिजोर कायम गर्ने निर्णय गरेका थिए । लामो समयसम्म पनि त्यसको व्यवस्थापनबारे पहल नभएपछि सरोकारवाला निकाय आक्रोशित बन्दै आएका थिए ।
भिड नियन्त्रण गर्न जोर(बिजोर लागु गरिए पनि पछिल्लो समय विभिन्न राजनीतिक दललगायतको भिडसहित प्रदर्शन हुँदै आएका छन् । नागरिकका लागि मात्रै जोर-बिजोर लगाउने तर ठूला प्रदर्शन रोक्न नसकेको भन्दै सुरक्षा निकायकै अधिकारीसमेत जोर-बिजोर हटाउने पक्षमा रहँदै आएका थिए ।
जोर(बिजोरको सबैभन्दा मारमा मोटरसाइकल प्रयोगकर्ता परेका छन् । मोटरसाइकल सार्वजनिक सवारीसाधन नभए पनि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भदौमा बसेको बैठकले मोटरसाइकलमा समेत जोर(बिजोर प्रणाली लागु गरेको थियो । हाल महानगरीय ट्राफिक महाशाखाले जोर-बिजोर उल्लंघन गरेको भन्दै दैनिक दर्जनौं सवारीसाधनमाथि कारबाही (होल्ड) गर्दै आएको छ ।
यता कोरोना महामारिको जोखिम बढेको भन्दै ६ महिनादेखि लागू गरिएको जोरबिजोर प्रणालीको प्रभावकारिताको भने अहिलेसम्म मूल्यांकन गरिएको छैन। जोरबिजोर हटाउन चौतर्फी दबाब बढ्न थालेपछि गृहमन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृहकार्य थालेको छ।
प्रतिक्रिया दिनुहोस्