सञ्चारमन्त्री गुरुङ भन्छन्- सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्ति शुरु हुन सकेन

काठमाडौं, मंसिर २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पावर्त गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्ति शुरु हुन नसकेको दावी गरेका छन् ।

नेपाल हस्तकला महासंघको ४८ औं वार्षिकोत्सव एवं नवौं हस्तकला दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो दाबि गरेका हुन् । राजनीतिक स्थिरता कायम भएपछिको सरकारलाई पनि असफल बनाउने प्रयास हुँदा देशमा आर्थिक क्रान्तिको शुरुवात हुन नसकेको उनले बताए ।

सरकारलाई असफल बनाएर नेपालमा बहुमतको सरकार टिक्न सक्दैन भन्ने सन्देश दिन धेरै खेल खेलिएकोे पनि मन्त्री गुरुङले बताए ।नेपाललाई छिमेकी मुलुहरुले गरिखाएको देख्न नचाहने परिस्थितिले पनि राजनीतिक स्थिरता कायम हुन नसकेको टिप्पणी मन्त्री गुरुङले गरे ।राजनीतिक पार्टीहरु र नेताहरुको बिचमा देखिएको असन्तुष्टिले फेरी पनि देशलाई असफल बनाउने दिशातर्फ धकेल्ने बताए ।

देशमा कुनै एक पार्टीको सरकार टिकाउने वा नटिकाउने भन्दा पनि मुलुकलाई स्थिरता तर्फ लैजाने समृद्धितर्फ लैजानको निम्ति वातावरण बन्नुपर्ने उनको भनाई छ । तर त्यस्तो वातावरण बन्न नसक्दा उद्योग व्यवसाय प्रभावित भएको मन्त्री गुरुङले बताए ।

हस्तकला उद्योगका समस्या समाधान गर्न कस्तो कानून आवश्यक पर्छ सम्बन्धित मन्त्रालय मार्फत सुझाव दिन पनि मन्त्री गुरुङले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्