नौ महिनापछि काठमाडौँ–दिल्ली उडान हुँदै

काठमाडौं , मंसिर २८ । कोरोनाका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् ।

दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

भारतीय दूतावासले जारी गरेको एयर ट्रान्सपोर्ट बबल अवधारणाअनुरुप नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ । भारतीय एयरलाइन्सले पनि आजदेखि काठमाडौँ उडानका लागि बुकिङ शुरु गरेको जनाएको छ । काठमाडौँ–दिल्ली हालका लागि आगामी पुस २ गतेदेखि दैनिक दुई उडान गर्नेगरी बुकिङ शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार नेपाल एयरलाइन्सले काठमाडौँबाट दिल्ली एक उडान र इण्डियन एयरले दिल्लीबाट काठमाडौँ एक उडान भर्नेछन् । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।

भारतसहित नेपालबाट हुने सबै अन्तरराष्ट्रिय गन्तब्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ । अहिले बङ्गलादेश, भूटान र थाइल्याण्डले काठमाडौँ उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तररष्ट्रिय उडान भर्दै आएका छन् ।

यसैबीच नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली उडानको तयारी तीव्र पारेको छ । नेपाल एयरलाइन्सको अन्तरराष्ट्रिय उडान गन्तब्यको व्यापारिक हिसाबले भारतका गन्तब्य निकै राम्रो मानिन्छ । लामो समय उडान नहुँदा निगमलाई आर्थिकरुपमा निकै घाटा भएको छ ।

नेपाल एयरलाइन्सको उडान समय काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ११ः२० का लागि उडान तालिका निर्धारण गरिएको छ । बिहान ११ः०० बजेका लागि उडान अनुमति मागेकामा २० मिनेट ढिलागरी भारतीय पक्षबाट उडान अनुमति दिएको नेपाल एयरलाइन्सले जनाएको छ । यो गन्तब्यको उडानमा नेपाल एयरलाइन्सका वाइडबडी ए–३३० र वाइडबडी ए–३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् । यात्रुको मागबमोजिम दुवै जहाजले उडान गर्ने योजना रहेको नेपाल एयरलाइन्सका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिइन् ।

निगमले भारतका तीनसहित सात देशका नौ गन्तब्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्