अमेरिकामा सोमबारबाट कोरोना खोप सर्वसाधारणले लगाउन पाउने

काठमाडौं, मंसिर २८ । अमेरिकामा सर्वसाधारणले कोरोनाको खोप सोमवारदेखि लगाउन पाउने भएका छन् ।

कोभिड-१९ विरुद्ध विकास गरिएको फाइजर बायोएनटेक कोरोनाभाइरस खोप आपत्‌कालीन प्रयोगका लागि अनुमति दिइएपछि उनीहरुले खोप लगाउन पाउने भएका अधिकारीहरूले बताएका छन्। अमेरिकामा फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाइने छ ।

अमेरिकामा खोपको पहिलो ३० लाख डोज खोप उपलब्ध भइसकेको त्यहाँका अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ । ती खोप सबै राज्यमा उपलब्ध हुने र प्राथमिकताका आधारमा खोप दिइने बताइएको छ ।

यो खोप कोरोनाभाइरसका विरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडीए० ले यसलाई सुरक्षित भएको जनाएको छ ।कोरोना विरुद्ध फाइजरले बनाएको खोपलाई प्रयोगमा ल्याउनेमा अमेरिका छैठौं देश हो ।

अमेरिकामा नोभेम्बर यता कोरोनाभाइरसका कारण हुने मृत्यु तीव्र गतिमा बढिरहेको छ। फाइजर कम्पनीले जर्मन कम्पनी वायोएनटेकसँग मिलेर बनाएको भ्याक्सिनलाई यसअघि बेलायत, क्यानडा, लगायत अन्य केही मुलुकले स्वीकृत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्