उखु किसानले अझै पाएनन् रकम भुक्तानी, फेरि होमीए आन्दोलनमा

काठमाडौं, मंसिर २८ । उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम नपाएको भन्दै फेरि आन्दोलनमा होमीका छन् ।

उनीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । सरकार र ऊखु किसानबीच सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा पनि रकम भुक्तानी नपाएपछि उखु किसानहरु आन्दोलनका लागि काठमाडौं आएका हुन् ।

गत वर्षको पुस १८ गते सरकार र उखु किसानबीच ५ बुँदे सहमति भएकोमा हालसम्म पनि बक्यौता रहेपछि किसानहरु फेरि आन्दोलनका लागि काठमाडौं आउन बात्तय भएको उनीहरुले बताएका छन् । राजधानीको माइतीघरमा रिले थालेका छन् भने माग पूरा नभएसम्म आन्दोलन नरोकिने अडान
किसानहरुले लिएका छन् ।

किसानलाई विभिन्न चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।जिल्लामा पटक पटक आन्दोलन गरेपनि सम्झौता अनुसार रकम प्राप्त गर्न नसकेपछि किसानहरुले कात्तिक २३ गते उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टसँग भेटेर ज्ञापनपत्र समेत बुझाएका थिए ।

छठसम्म बक्यौता रकमको भुक्तानी नभए मंसिर २७ गतेदेखि आन्दोलन गर्ने कुरा ज्ञापनपत्रमै उल्लेख थियो । जसअनुसार आन्दोलन शुरु भएको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए ।

जबसम्म सम्पूर्ण रकम प्राप्त हुँदैन, तबसम्म आफूहरु काठमाडौंबाट नफर्किने उनले बताएका छन् । अहिले सर्लाहीका किसान मात्र आन्दोलनमा आएका छन् । यो महिनापछि देशभरिका किसान काठमाडौं आउने समेत उनले बताए । काठमाडौं केन्द्रीत आन्दोलन विस्तारै देशैभरि विस्तार हुने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्