नेकपा स्थायी कमिटी बैठक आज बस्दै, मुठभेडकै मुडमा नेताहरू

काठमाडौं , मंसिर २८ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि गत आइतबार बसेको स्थायी कमिटी बैठक दुवै अध्यक्षका प्रस्ताव तथा पत्र अध्ययन र अनौपचारिक संवाद गर्ने भन्दै आजसम्मका लागि स्थगित भएको थियो ।

दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने नहुने निश्चित छैन । तर पनि अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यवस्थालाई ध्यानमा राखेर नेकपाले स्थायी कमिटी बैठक बालुवाटारमा नै सारेको छ । यसअघि मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली सहभागी भएका थिएनन् । तर प्रचण्ड–नेपाल पक्षले भने प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएपछि बैठक अघि बढाउने तयारी गरेका छन् ।

आज बस्ने बैठकमा यसअघि प्रस्तुत भएका दुवै अध्यक्षका प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सुरु हुने बताइएको छ । यद्यपी बैठकमा कुनै एजेण्डा तय नभएको स्थायी कमिटी सदस्यहरुले जनाएका छन् ।यता पार्टीमा गहिरिँदो संकट समाधानका लागि अनौपचारिक संवाद गर्ने भनेर स्थायी कमिटी स्थगित गरिएपनि यस अवधिमा खासै प्रगति हुन भने भएन ।

एक सातामा सहमति जुटाउने सघन संवादमा भन्दा नेताहरु एकअर्का समूहविरुद्ध रणनीति बनाउने तयारीमा देखिन्थ्य । गएको आइतबारदेखि शनिबारसम्म प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एकपटक अनौपचारिक संवाद भए पनि विवाद समाधानका लागि शीर्ष तहमा अरु कुनै भेट भएका छैनन् ।

बरु, यसबीचमा समूहगत छलफल र भेला भएका छन् । दुवैतिरका जनवर्गीय संगठन र प्रदेश कमिटीहरूको गोप्य र खुलमखुला भेला भइरहेका छन् । यसरी समानान्तर छलफल हुनुको पछाडि अब पार्टीमा बहुमतकै निर्णय हुन्छ र तल्ला कमिटीका आफ्ना निकटस्थलाई मानसिक रूपमा तयार पार्नुपर्छ भन्नेमा उनीहरू पुगेको देखिन्छ । यतातिर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि पार्टीमा अप्ठ्यारोमा परेका ओलीले योबीचमा गरेका सहमतिका प्रयास असफल भएका छन् ।

विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको बताउँदै आएका छन् ।एकता महाधिवेशन हुने घोषित मितिको करिब चार महिनाअघि बहुमत र अल्पमतको खेलमा प्रवेश गरेपछि नेकपाको संकट अझ गहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्