कांग्रेस नेता महरले चरिकोटको विरोध सभालाई सम्बोधन गर्ने

काठमाडौं, मंसिर २८ । सरकार बिरुद्ध आक्रामक बिरोधमा उत्रिएको नेपाली काँग्रेसले देशभर प्रदर्शनको तयारी थालेको छ । नेपाली कांग्रेसले सडकबाट सरकारको विरोध गर्ने भएको हो । यसका लागि मंसिर २९ मा हुने देशैभरको प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाइएको छ।

शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न लागेका छन्। यसैबीच नेपाली कांग्रेसका युवा नेता एवं स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले मंसिर २९ गते दोलखाको चरिकोटमा हुने बिरोध सभालाई सम्बोधन गर्ने भएका छन् ।

सरकारले गरेको ज्यादती, भ्रष्टाचार, कोरोना कहरमा जनस्वास्थ्यमा भएको गम्भीर खेलवाडलगायतका बिषयमा आपत्ति जनाउँदै नेपाली कांग्रेसले यहि मंसिर २९ गते देशब्यापी बिरोध प्रर्दशन गर्दे छ ।त्यस्का लागि शीर्ष नेताहरू देशका विभिन्न भागमा सम्बोधनका लागि पुग्ने भएका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका नेता महरले चरिकोटको बिरोध सभालाई केन्द्रीय बक्ताका रुपमा सम्बोधन गर्ने दोलखाका सभापति रुद्र खड्काले बताए ।उनले कार्यक्रममा सहभागी हुन जिल्लाका सबै पालिकाका कार्यकर्तालाई सर्कुलर गरिएको बताए । उनले चरिकोटमा पटक(पटक जनताले कम्युनिष्टलाई जिताएको भए पनि सधै जनताको भावनामाथि कुठाराघात गरेकाले आफूहरू सरकारको गलत कामको भन्डाफोर गर्न जनतासामु गइरहेको बताए ।

उनले स्पष्ट बक्ता एवं बौद्धिक छबि भएका नेता महरले नेकपाको किल्लामा उसका गलत क्रियाकलापको भण्डाफोर गर्ने बताए । बिरोध प्रर्दशनका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए । यसैगरि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ।वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन्।मुख्यसचिव पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए।जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ।गत मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न प्रशासन र नेकपाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि कांग्रेसले सरकारका प्रवृत्तिविरूद्ध आन्दोलन गर्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस्