‘छाउगोठ भत्काइएपछि ओढार र चौरमा बास’
बझाङ , मंसिर २६ । गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् ।
धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्नेलगायतका कार्य गर्न मिल्दैन । स्थानीय उजली बोहोराले भनिन्, छाउगोठमा बसे गाउँपालिकाले भत्काउँछ घरपरिवारले देवता रिसाउँछन् भनेर घरभित्र बस्न दिँदैनन् म छाउ भएका बेला कहिले ओढार त कहिले खाली आकाशमा रात बिताउने गर्छु ।
यो साइपाल गाउँपालिकाको मात्रै पीडा हैन बझाङका अधिकांश ग्रामीण भेगमा महिलाले यस्तो समस्या भोग्दै आएका छन् । साइपाल गाउँपालिकाका महिला महिनावारी भएका बेला खुला आकाश तथा ओढारमा पाल हालेर बस्न बाध्य छन् ।
गाउँपालिकामा छाउपडी प्रथा उन्मूलन गर्न गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम तथा छाउगोठ भत्काउने अभियान शुरु गरेपनि महिलालाई झनै समस्या थपिँदै गएको स्थानीय महिला बताउँछन् । ‘समृद्ध गाउँपालिका बनाउनका लागि छाउगोठ भत्काएर मात्रै हुँदैन, मानिसमा चेतना नहुँदासम्म छाउपडी प्रथा उन्मूलन हुन सक्दैन’, स्थानीयवासी तिलक विकले भने । गाउँपालिकाका अध्यक्ष राजेन्द्र धाँमीले छाउपडी प्रथामा केही सुधार आउँछ कि भनेर छाउगोठ भत्काइएको र केही ठाउँमा सुधार पनि भएको छ बताए।
साइपाल गाउँपालिकामा बसोबास गर्ने दुई समुदायमा छाउ मान्ने र नमान्ने भएका छन् । साइपाल गाउँपालिकाको धुलीमा रहेका लामा, तामाङ समुदाय महिनावारी भएका बेला घरभित्र बस्ने र अन्य जातिले छाउगोठ, ओढार, खुला आकाशमुनि बस्ने गरेका छन् ।
साइपाल गाउँपालिका धुलिकी पूजा तामाङले भने, अन्य समुदायमा छाउपडी प्रथा नमाने देवता रिसाउने भनेर भन्छन् । देवताको बाटो छुवाछूत गर्नु हुन्न भन्छन् । हामी पनि साइपालमै बस्छौँ महिनावारी भएका बेला घरभित्रै बस्छौँ, दही, दूध, मही, घिउ खान्छौँ त्यस्तो केही हुँदैन ।
ुयस्तै सोही ठाउँकी डोल्मा तामाङले भनिन्, हामी छाउ भएका बेला खाना आफँै पकाउँछौँ, सँगै बस्छौँ, खाना सँगै खान्छौँ, पूजा मात्रै गर्दैनौँ त्यो समयमा हामीलाइलाई केही हुँदैन । साइपालको लाफडीमा तामाङ समुदायको ३५ घर छन् । यहाँका कसैले पनि छाउ प्रथा मान्दैनन् । -रासस
प्रतिक्रिया दिनुहोस्