९ महिनादेखि बन्द नेपाल–भारत हवाई उडान पुस २ गतेदेखि खुल्ने
काठमाडौं, मंसिर २६ । बन्द रहेको नेपाल–भारत हवाई उडान ९ महिनापछि संचालनमा आउने भएको छ। विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)संक्रमण त्रासका कारण हवाइ उडान बन्द रहेको थियो ।
नेपाल र भारतबीच कुटनीतिकस्तरमा छलफलपछि काठमाडौं–दिल्ली उडान गत चैत महिनादेखि बन्द भएको थियो । बन्द रहेको काठमाडौं–दिल्ली हवाई उडान अब पुस २ गतेदेखि आंशिक रुपमा सञ्चालन हुने छ ।
जसमध्ये सुरुमा नेपाल र भारतका एक–एक वटा एयरलाइन्सले मात्रै उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले दैनिक एक–एक उडान गर्नेछन्।
नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको छ। भारतले भदौ ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो।
भारतले नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्न गाह्रो परेका नेपाली र भारतीय नागरिकलाई सेवा दिने उद्देश्यले यो सम्झौता नेपाली दूतावासमा पठाएको थियो। यसरी ९ महिनासम्म नेपाल–भारत हवाई उडान बन्द रहदा आवत जावत गर्ने यात्रुले भने निकै सास्ती खेप्नु परेको थियो ।















प्रतिक्रिया दिनुहोस्