राजादेखि विप्लवसम्म अट्ने व्यवस्था आवश्यक : अध्यक्ष थापा

काठमाडौं, मंसिर २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरि राजादेखि विप्लव समूहसम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको औंल्याएका छन् ।

बिहीबार हेटौंडामा पार्टीको चुनाव चिन्ह ‘हलो’ तथा झण्डा अनावरण गर्दै थापाले यस्तो औंल्याका हुन् । राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको निमित्त सर्वपक्षीय सम्मेलन हुनुपर्ने समेत उनले माग गरे।

उनले नेपाली जनताको अभिमतबाट, राजनीतिक दलहरुको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने स्पष्ट पार्दै विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने भनाइ उनको रहेको थियो ।

नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरुको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्न थापाले जोड दिए। गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको चर्चा गर्दै जनताले बिस्तारै यो गम्भीर विषय बुझ्दै गएको थापाले बताए।

राजसंस्था र हिन्दू राष्ट्रको माग राखी देशब्यापी जनप्रदर्शन भएकोमा थापाले खुसी प्रकट गरेका छन्। राप्रपाले उठाएको एजेन्डाप्रति जनसमर्थन देखिनु सकारात्मक भएको भन्दै उनले प्रदर्शन परिचालित नभएको दाबी गरे।

मुलुकमा विकृति बिसंगती, भ्रष्टाचार, बेरोजगारी व्यापक भएको भन्दै संवैधानिक अंग, न्यायालय, प्रहरी प्रशासनमा देखिएको सेटिङ, प्रभाव रहस्तक्षेपप्रति तीव्र आलोचना गरे।

परिवर्तनपछि राजा ज्ञानेन्द्रको सालिन र मर्यादित भूमिका र व्यबहारको पनि थापाले खुलेर प्रसंशा गरे। राप्रपालाई मुलुकको बैकल्पिक शक्ति बनाउन जनताको सहयोग आवश्यक भएको भन्दै संगठन सुदृढीकरणमा लाग्न थापाले कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्